काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको टीका लगाइदिए । प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिएका थिए ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैंको टीका लगाएर नेपालीहरुलाई शुभकामना दिएकी छन्। काठमाडौंस्थित दूतावासमा उनले नेपाली सहकर्मीहरुसँग टीका लगाएकी हुन्।
टीका लगाएको तस्बिर सार्वजकि गर्दै उनले लेखेकी छन्, ‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु ।
नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा सबैले आफन्त र परिवारसँग मनाइरहेका बेला नेपाली राष्ट्रिय फुटबल खेलाडीहरु यतिबेला माल्दिभ्समा साफ च्याम्पियनसिपका लागि रहेका छन् । उनीहरु माल्दिभ्समा नै टिमका साथ दशैंको टीका र जमरा लगाएका छन् ।
खेलाडी तथा अफिसियललाई टिमका व्यवस्थापन मधुसुधन उपाध्यायले टीका र जमरा लगाइदिएका थिए ।




फेसबुकबाट तपाइको प्रतिक्रिया